प्रधानमन्त्री कार्कीद्वारा निर्वाचन सफल बनाउन सबैलाई आग्रह

145 Shares

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्की ले आगामी प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सबै मिलेर काम गर्नुपर्ने बताएकी छन्।

शुक्रबार ताप्लेजुङको पाथीभरा र फुङलिङ क्षेत्रका स्थानीय बासिन्दा तथा सरकारी अधिकारीसँग अन्तर्क्रिया गर्दै उनले यस निर्वाचन सामान्य नभई देशको भविष्य कोर्ने महत्त्वपूर्ण घटना भएको औंल्याइन्। उनले शान्ति, सुरक्षा, स्वच्छता र मितव्ययिता सबै कोणबाट मानक बनाउनेगरी काम गर्न स्थानीय अधिकारीलाई निर्देशन दिइन्।

प्रधानमन्त्री कार्कीले भने, “आगामी निर्वाचनले राष्ट्रको जीवनमा दीर्घकालीन प्रभाव पार्ने भएकाले सबैमा गम्भीरता र जिम्मेवारीबोध हुनुपर्छ।” उहाँले निर्वाचन तयारीका लागि हिमालीदेखि सबै क्षेत्रको जानकारी लिएकाले तोकिएको समयमा शान्तिपूर्ण निर्वाचन हुनेमा सरकार ढुक्क रहेको पनि बताइन्।

सो क्रममा ताप्लेजुङका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विकास श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँ र सुरक्षा अधिकारीहरूले निर्वाचन तयारी र सुरक्षा अवस्थाका बारेमा जानकारी दिएका थिए।

प्रमुख जिल्ला अधिकारी सेढाईँका अनुसार, ताप्लेजुङमा ९०,३२७ मतदाता र एक मात्र निर्वाचन क्षेत्र रहेको छ। यसका लागि २ अस्थायीसहित ८२ मतदानस्थल तोकिएका छन्, जस मध्ये चारवटा मतदानस्थल भौगोलिक रूपमा विकट र हिमाली क्षेत्रमा रहेका छन्।