बंगलादेश निर्वाचनमा झडप, बीएनपी नेताको मृत्यु

168 Shares

काठमाडौं । बंगलादेशमा बिहीबार भइरहेको आम निर्वाचनका क्रममा दुई समूहबीच झडप हुँदा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का नेता मोहिबुज्जमान कोचीको मृत्यु भएको छ ।

खुलना सदरस्थित आलिया मदरसा मतदान केन्द्रमा तनावपूर्ण अवस्था सिर्जना भएपछि धक्का–मुक्का हुँदा कोची घाइते भएका थिए । उनलाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

स्थानीय स्रोतका अनुसार मतदान केन्द्रमा बिहानैदेखि तनाव देखिएको थियो । केही समूहबीच विवाद भएपछि धकेलाधकेल हुँदा कोची लडेर टाउकोमा चोट लागेको बताइएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ भने विपक्षी पक्षले घटनाबारे फरक–फरक दाबी गरेका छन् ।

यसैबीच देशभर हजारौँ मतदान केन्द्रमा मतदान जारी छ । ठूलो संख्यामा मतदाता सहभागी भएको यो निर्वाचनलाई बंगलादेशको महत्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ ।