काठमाडौं विश्वका प्रदूषित सहरमध्ये चौथो स्थानमा, वायु गुणस्तर अस्वस्थ

148 Shares

काठमाडौं । काठमाडौंको हावाको गुणस्तर निकै खराब अवस्थामा पुगेको छ। बिहीबार बिहान काठमाडौं विश्वकै प्रदूषित सहरहरूको सूचीमा चौथो स्थानमा पुगेको हो।

आईक्यू एयरको तथ्यांक अनुसार बिहीबार बिहानसम्म काठमाडौंको वायु गुणस्तर अस्वस्थ श्रेणीमा पुगेको छ। हाल यहाँ हावाको एक्यूआई (AQI) करिब १८८ आसपास रहेको जनाइएको छ। वायुमा सूक्ष्म कण पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा धेरै गुणा बढी रहेको छ।

आईक्यू एयरको तथ्यांक अनुसार काठमाडौंमा पीएम २.५ स्तर डब्लुएचओको वार्षिक मापदण्डभन्दा धेरै गुणा माथि हुने गरेको देखिन्छ, जसले स्वास्थ्य जोखिम बढाउने गर्दछ।

विश्वकै प्रदूषित सहरहरूको सूचीमा बंगलादेशको ढाका पहिलो स्थानमा, पाकिस्तानको लाहोर दोस्रो र अफगानिस्तानको काबुल तेस्रो स्थानमा रहेका छन् भने भारतको नयाँ दिल्ली काठमाडौंपछि पाँचौं स्थानमा रहेको जनाइएको छ।

काठमाडौं लामो समयदेखि विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये एकको रूपमा सूचीकृत हुँदै आएको छ र उच्च प्रदूषणले जनस्वास्थ्यमा गम्भीर असर पार्ने चेतावनी विज्ञहरूले दिँदै आएका छन्