काठमाडौं । कपिलवस्तुमा गुडिरहेको बसमा आगलागी, सबै यात्रु सकुशल कपिलवस्तुमा बिहीबार गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ। हुलाकी सडक खण्डअन्तर्गत तौलिहवा–भैरहवा सडकको शुद्धोदन गाउँपालिका–६ टिटिहिरियामा काठमाडौंबाट सुर्खेत जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको बसमा आगलागी भएको प्रहरीले जनाएको छ।
बसमा आगलागी भएपछि बस जलेर पूर्ण रूपमा नष्ट भएको छ। बसमा सवार ४४ जना यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ। गुडिरहेको अवस्थामा बसको बायाँ चक्काबाट अचानक आगलागी सुरु भएको थियो। त्यसपछि बस सडक किनारमा रोकेर यात्रुहरूलाई सुरक्षित रूपमा ओरालिएको थियो।
स्थानीयवासी, प्रहरी र कपिलवस्तु नगरपालिकाको दमकलको सहयोगमा आगो निभाउने प्रयास गरिए पनि बस करिब आधा घण्टामै पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति भने भएको छैन।
आगलागीको कारण भने अझै खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया