काठमाडौं । पश्चिम नवलपरासी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका उम्मेदवार तथा पार्टीका केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका छन् । उनले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनपछि मतदातासामु प्रस्तुत गरेको ३१ बुँदे घोषणापत्रका आधारमा भएका काम, प्रगति, उपलब्धि तथा कार्यान्वयनको अवस्थाबारे समग्र विवरण सार्वजनिक गर्दै आगामी निर्वाचनअघि आफ्नो कार्यसम्पादनबारे पारदर्शी मूल्यांकनको प्रयास गरेको बताएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा सार्वजनिक गरिएको उक्त ‘रिपोर्ट कार्ड’ मार्फत चौधरीले तीन वर्षअघि जनतासँग गरेका प्रतिबद्धताहरूको समीक्षा प्रस्तुत गर्दै मतदातालाई आफ्नो कामको निष्पक्ष मूल्यांकन गर्न आग्रह गरेका छन् । उनले लोकतन्त्रको सुदृढ अभ्यासका लागि निर्वाचित जनप्रतिनिधि जनताप्रति जवाफदेही हुनुपर्ने उल्लेख गर्दै आफू त्यसैअनुसार जनताको अदालतमा उभिन तयार रहेको स्पष्ट पारे ।
रिपोर्ट कार्ड सार्वजनिक कार्यक्रममा उनले मतदातालाई प्रश्न गर्ने अधिकार लोकतन्त्रको आधारभूत पक्ष भएको बताए । “प्रश्न सोध्न पाउनु मतदाताको अधिकार हो । मैले जारी गरेको प्रतिबद्धतापत्रअनुसार काम भयो कि भएन भनेर प्रत्येक मतदाताले मलाई सोधून् भन्ने चाहन्छु,” उनले भने, “जनताको अदालतमा उभिएर गरेका प्रतिबद्धताको एक–एक जवाफ दिनु मेरो जिम्मेवारी हो ।”
चौधरीले आफ्नो कार्यकालमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार तथा सामाजिक विकासका क्षेत्रमा भएका पहलहरूलाई रिपोर्ट कार्डमा समेटिएको बताए । उनले क्षेत्रीय विकासलाई प्राथमिकतामा राख्दै सडक, खानेपानी, विद्युत् विस्तार, कृषि आधुनिकीकरण, उद्योग तथा पर्यटन प्रवर्द्धनका योजनाहरू अघि बढाइएको दाबी पनि गरे ।
उनका अनुसार नेपाली कांग्रेसले परिवर्तन, विकास र लोकतान्त्रिक मूल्य–मान्यताको नारासहित अघि बढ्दा जनताका प्रश्नको जवाफ दिन सक्ने गरी काम गर्नुपर्ने जिम्मेवारी आफूहरूले बुझेका छन् । त्यसैले तीन वर्षअघि सार्वजनिक गरिएको घोषणापत्रको कार्यान्वयन अवस्थाबारे स्पष्ट विवरण प्रस्तुत गर्दै आफू पुनः मतदातामाझ आएको उनले बताए ।
चौधरीले ‘रिपोर्ट कार्ड’ को डिजिटल प्रति सार्वजनिक गरिएको जानकारी दिँदै यसको मुद्रित संस्करण पनि विभिन्न स्थानमा उपलब्ध गराइने बताए । उनका अनुसार सचिवालय, नेपाली कांग्रेसको क्षेत्रीय कार्यालय, सम्बन्धित पालिका कार्यालयहरू तथा निर्वाचन क्षेत्रका ३४ वटै वडाका सम्पर्क कार्यालयमा प्रतिवेदन उपलब्ध गराइनेछ, जसबाट आम मतदाताले सहज रूपमा अध्ययन गर्न सक्नेछन् ।
उनले मतदातालाई प्रतिवेदन अध्ययन गर्न, आवश्यक जिज्ञासा राख्न र प्रत्यक्ष भेटघाटमार्फत प्रश्न गर्न आग्रह गर्दै यसलाई पारदर्शिता र जवाफदेहिताको अभ्यासका रूपमा लिएको बताए । लोकतान्त्रिक संस्कृतिलाई मजबुत बनाउन जनप्रतिनिधि र मतदाता बीच खुला संवाद आवश्यक रहेको उनको भनाइ छ ।
राजनीतिक विश्लेषकहरूले निर्वाचनअघि कार्यसम्पादनको रिपोर्ट कार्ड सार्वजनिक गर्ने अभ्यासलाई सकारात्मक संकेतका रूपमा लिएका छन् । उनीहरूका अनुसार यसले मतदातालाई सूचित निर्णय लिन सहयोग पुग्ने मात्र नभई राजनीतिक दल तथा उम्मेदवारहरूमा पारदर्शिता र उत्तरदायित्वको संस्कार विकास गर्न मद्दत पुर्याउन सक्छ ।
निर्वाचन नजिकिँदै जाँदा चौधरीसहित विभिन्न दलका उम्मेदवारहरू चुनावी तयारीमा सक्रिय भइरहेका छन् । यसबीच रिपोर्ट कार्ड सार्वजनिक गर्नुले मतदाताबीच विकास, प्रतिबद्धता र कार्यसम्पादनका आधारमा राजनीतिक बहसलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ ।







फेसबुकबाट तपाईको प्रतिक्रिया