काठमाडौँ – आफूलाई एक्स्ट्रिमिस्ट ग्रुप या नेपाल इजिएनको अध्यक्ष ठानेर आफ्नो इमेलबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगसहित १० जनालाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठक (३४) लाई फिलिपिन्सबाट नेपाल ल्याएर ६ वटा मुद्दामा अनुसन्धान थालिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, पाठकको घर काभ्रेपलान्चोक, तेमाल गाउँपालिका–१ मा रहेको भए पनि हाल फिलिपिन्स बस्दै आएका थिए। उनीलाई इन्टरपोलमार्फत पक्राउ गरी नेपाल ल्याइएको भट्टराईले जानकारी दिए।
उनलाई काठमाडौँ जिल्ला अदालतमा पेश गर्दा अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको छ।
उनविरुद्ध सार्वजनिक अपराध, ठगीसम्बन्धी कसूर, आपराधिक लाभ लिन नहुने, आपराधिक षड्यन्त्र गर्न नहुनेलगायत ६ वटा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
भट्टराईका अनुसार, सन् २०२५ अक्टोबर २२ मा पाठकले प्रयोग गर्ने इमेल आइडीबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्तसहित अन्य १० जनालाई ज्यान मार्ने धम्की दिएका थिए।
प्रहरीले सो घटना पछि पाठकलाई खोजीको सूचीमा राखेको थियो र फिलिपिन्सको इन्टरपोलसँग समन्वय गरी उनलाई नेपाल ल्याइएको हो।
अहिले अनुसन्धान प्रक्रिया सुरु भइसकेको र अदालतको म्याद अनुसार थप अनुसन्धान जारी रहने जानकारी दिइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया