काठमाडौं । काठमाडौँ उपत्यकामा वायु प्रदूषण आज पनि अस्वस्थ तहमा पुगेको छ । वातावरण विभागका अनुसार ‘एयर क्वालिटी इन्डेक्स (एक्युआई)’ मध्याह्नसम्म १९२ मापन गरिएको छ, जुन सबैका लागि अस्वस्थ मानिन्छ । आइतबार १७५ एक्युआई मापन भएको थियो भने मङ्गलबार १९२ एक्युआईमा पुगेको थियो ।
विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार लामो समयसम्म वर्षा नहुँदा र हावा नचल्दा वायुमण्डलमा प्रदूषक तत्वको सघनता बढिरहेको छ । उनले भने, “उपत्यका कचौरा आकारको छ, हावा नचल्दा र वर्षा नहुँदा यहाँको प्रदूषण अन्यत्र जान सक्दैन। धुवाँधुलो हावामा तैरिएर बसिरहेको हुन्छ। साथै उद्योग, कलकारखाना र तीव्र गतिमा भइरहेको विकास निर्माणले पनि प्रदूषण बढाउने भूमिका खेलेका छन्। सीमापारबाट भित्रिने प्रदूषणले पनि हावाको गुणस्तरमा असर गरेको छ।”
विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा आज काठमाडौँ आठौँ स्थानमा रहेको छ भने भारतको नयाँ दिल्ली २४७ एक्युआईका साथ सर्वाधिक प्रदूषित सहरको रूपमा सूचीकृत छ ।
विपद् व्यवस्थापन विशेषज्ञ डा. धर्मराज उप्रेतीका अनुसार वायु गुणस्तर वर्गीकरण यस प्रकार छ:
०–५० एक्युआई: राम्रो (हरियो संकेत)
५१–१००: सचेत रहनुपर्ने (पहेंलो संकेत)
१०१–१५०: अस्वस्थ (विशेषगरी श्वासप्रश्वास तथा मुटुरोगीलाई असर)
१५१–२००: सबैका लागि अस्वस्थ
२०१–३००: धेरै अस्वस्थ
३०० भन्दा माथि: अत्यन्तै खतरनाक
काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्य योजना, २०७६ अनुसार एक्युआई ३०० भन्दा बढी पुगेको अवस्था विपद् मानिन्छ । विपद् न्यूनीकरणका लागि फोहर बाल्ने कार्य रोक्ने, सडक सफाइका लागि ब्रुमर र भ्याकुमको प्रयोग बढाउने, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था गरिएको छ ।
राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार जल, वायु, माटो, ध्वनि, विद्युत्, चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण र जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामका लागि राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने सरकारी रणनीति अघि सारिएको छ । साथै प्रमुख सहर, औद्योगिक क्षेत्र र प्रदूषण जोखिम भएका स्थानमा गुणस्तर मापन केन्द्र स्थापना गरी वायु, जल र ध्वनि गुणस्तरको नक्साङ्कन गरिने प्रावधान रहेको छ ।
वायु प्रदूषणको वर्तमान स्तरले स्वास्थ्यमा असर पुर्याउने भएकाले सम्बन्धित निकाय, उद्योग तथा नागरिक समुदायले दिगो र वातावरणमैत्री उपाय अवलम्बन गर्न आवश्यक रहेको विज्ञहरूले औँल्याएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया