काठमाडौं । नेपाली काँग्रेसका सांसद पदम परियाले प्रधानमन्त्री शुशीला कार्कीलाई राष्ट्रिय जिम्मेवारीको बोध गर्दै निष्पक्ष रूपमा काम गर्न आग्रह गरेका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै उनले निर्वाचन निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गराउन सरकार गम्भीर बन्नुपर्ने बताए ।
परियाले सरकारका पछिल्ला केही निर्णयले निर्वाचन शान्तिपूर्ण र धाँदलीरहित हुनेमा आशंका पैदा भएको टिप्पणी गरे । “सरकार रेफ्री जस्तो निष्पक्ष देखिनुपर्ने हो, तर कतै खेलाडीझैँ मैदानमै उत्रिएको त होइन भन्ने शंका जनतामा बढ्न थालेको छ,” भन्दै उनले हल्का व्यंग्य पनि गरे ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयको निर्णय तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशनमा सरकार आयोजक बनेको विषयमा असन्तुष्टि जनाए । उनका अनुसार निर्वाचनको मुखमा यस्ता कदमले सरकारको तटस्थता माथि प्रश्न उठाएको छ ।
मतदाताको करोडौँ रुपैयाँ ठगीको अभियोगमा अदालतबाट सजाय भोगिरहेका एक उम्मेदवारको मुद्दा फिर्ता लिनु विवादास्पद र शंकास्पद निर्णय भएको उनको आरोप छ । “कानुन सबैका लागि बराबर हो कि ‘चिनेको मान्छे’ अनुसार फरक हुन्छ भन्ने प्रश्न उठ्नु राम्रो संकेत होइन,” उनले कटाक्ष गरे ।
त्यस्तै एनआरएनएको निर्वाचन स्वयं सरकारले आयोजक बनेर गराउनु पनि समय सन्दर्भअनुसार उपयुक्त नभएको उनको धारणा थियो । उनले यस्ता निर्णयले सरकार कुनै अमुक दल वा उम्मेदवारतर्फ झुक्दै गएको सन्देश जान सक्ने बताए ।
सांसद परियाले विवादास्पद निर्णय पुनर्विचार गर्न, राज्य संयन्त्रलाई पूर्ण तटस्थ ढंगले परिचालन गर्न तथा निर्वाचनप्रति नागरिकको विश्वास कायम राख्न सरकारलाई आग्रह गरे । “निर्वाचन लोकतन्त्रको पर्व हो, त्यसलाई निष्पक्ष राख्नु सरकारको दायित्व हो — नत्र जनताले रेफ्री बदल्न पनि ढिला गर्दैनन्,” भन्दै उनले आफ्नो भनाइ टुंग्याए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया