नेपाल–कतार लगानी सम्भावना: दुवै देशका निजी क्षेत्रलाई जोड दिने पहल

32 Shares

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपाल र कतारबीचको आर्थिक तथा लगानी सहकार्यलाई दीर्घकालीन र पारस्परिक लाभदायक बनाउँदै अघि बढाउनुपर्ने बताएका छन्। मंगलबार कतार चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैदेलीको नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको भेटवार्तामा उनले आपसी सहकार्य अपरिहार्य भएको औँल्याए।

मन्त्री शर्माले निजी क्षेत्र आधुनिक अर्थतन्त्रको मुख्य इन्जिन भएको उल्लेख गर्दै कतारी व्यवसायीलाई नेपालमा लगानीका अवसरको खोजी गर्न आमन्त्रित गरे। उनले भने, “कतारको विकास अनुभवबाट नेपालले सिक्न सक्ने धेरै कुरा छन्। दुवै देशका लागि लाभदायक क्षेत्र पहिचान गरी संयुक्त लगानी गर्न सकिन्छ।”

अलोबैदेलीले नेपाल–कतार सहकार्य सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमार्फत अघि बढाउन सकिने बताए। उनले अन्तर्राष्ट्रिय बजारमा कतारको अनुभव, रणनीतिक साझेदारहरू र उपलब्ध अवसरहरूलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याए।

उक्त अवसरमा अलोबैदेलीले राजनीति र निजी क्षेत्रलाई उत्प्रेरकको रूपमा प्रयोग गरेर दुवै देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन सकिने बताएका छन्। दुवै देशका चेम्बर अफ कमर्स तथा व्यापार परिषद्को सक्रियता सुनिश्चित गर्ने विषयमा पनि छलफल भएको थियो।

कतार चेम्बर विश्वव्यापी रूपमा बलियो नेटवर्किङ प्लेटफर्म भएको उल्लेख गर्दै उनले प्रत्येक वर्ष ३५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलहरू कतार आउने जानकारी दिएका छन्। कतारी प्रतिनिधिमण्डलले ऊर्जा, पर्यटन र प्रविधि क्षेत्रमा पनि लगानी गर्न इच्छुक रहेको जानकारी दिएका छन्।

प्रतिनिधिमण्डल नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणामा भ्रमणमा आएको थियो। उनीहरूले अर्थमन्त्री रामेश्वर खनाल र नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग पनि भेटवार्ता गरी नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ प्रणाली र लगानी सम्भावनाबारे छलफल गरेका थिए।

कतारी प्रतिनिधिहरूले नेपालमा स्थिर नीति, स्पष्ट कानुनी संरचना र बैंकिङ सहजीकरण भए दीर्घकालीन लगानीका लागि तयार रहेको बताएका छन्। भेटवार्तामा नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अली अल अन्सारी र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको पनि सहभागिता रहेको थियो।