निखिल उप्रेतीले राजनीति नगरी कला क्षेत्रमा योगदान दिने प्रतिबद्धता व्यक्त गरे

36 Shares

काठमाडौं । अभिनेता निखिल उप्रेतीले आफू राजनीतिमा प्रवेश नगरी कलाकारितामा केन्द्रित भएर देश र समाजमा योगदान दिने बताएका छन्। आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको जिज्ञासा सम्बोधन गर्दै उनले विधागत अब्बल व्यक्तिहरूलाई आफ्नै क्षेत्रमै भूमिका निभाउनुपर्नेमा जोड दिए।

उप्रेतीले भने, “पछिल्लो समय विधागत रूपमा अब्बल देखिएका मानिसलाई राजनीतिमा आउनुपर्छ, मन्त्री हुनुपर्छ भन्ने सोच प्रचलित छ, त्यो गलत हो। हामी जहाँ छौँ, त्यहीँ रहेर देश विकासमा योगदान दिनुपर्छ। मलाई दर्शकले कलाकारका रूपमा रुचाउनुभएको छ, त्यसैले म कलाकारिता क्षेत्रमा नै रमाउँछु।”

समानान्तर रूपमा उनले मुलुकको राजनीति बुझ्न हरेक नागरिकको जिम्मेवारी भएको बताए। उनले भने, “हाम्रो भविष्य र देश विकासका लागि राजनीति बुझ्न जरुरी छ। यदि जनताले राम्रोसँग राजनीति नबुझ्ने हो भने नीतिनिर्माण तहमा असल व्यक्तिको प्रतिनिधित्व हुन सक्दैन। निर्वाचन नजिकिँदैछ, यसका लागि उम्मेदवारसँग प्रश्न गरी योग्य व्यक्ति चयन गर्ने दायित्व सचेत मतदाताको हो।”

यसैबीच, उप्रेतीको नयाँ चलचित्र ‘कस्तुरी’ को छायाँकन आजदेखि काठमाडौँ उपत्यकामा सुरु भएको छ। निर्देशक ऋत बोहोराको निर्देशनमा तयार हुने चलचित्रमा उप्रेतीसँगै वर्षा शिवाकोटी, शेखर चापागाईं, निर्मल शर्मा, निशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बम्जन, मीरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा र नेहा गौतमलगायत कलाकारले अभिनय गर्नेछन्।