नयाँ शक्ति भन्दै पार्टी संयोजक दाहाल: ‘हाम्रो विचार, नाम र एजेण्डा नेपालको सबैभन्दा नयाँ’

64 Shares

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफ्नो पार्टी विचार, नाम र राजनीतिक एजेण्डाका दृष्टिले नेपालकै सबैभन्दा नयाँ शक्ति भएको दावी गर्नुभएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा मंगलबार आयोजित कार्यक्रममा उहाँले नयाँ हुनुको अर्थ केवल पुरानाको विरोध गर्नु नभई अग्रगामी विचार र उन्नत एजेण्डा बोकेको हुनुमा रहेको स्पष्ट पार्नुभयो।

संयोजक दाहालले उपत्यकाभित्र रहेका विभिन्न क्षेत्रका मतदाताहरूलाई निर्वाचनमा सहभागी गराउन र नामावली भएको स्थानमा केन्द्रित गर्न नेता तथा कार्यकर्ताहरूलाई योजनाबद्ध र संस्थागत रूपमा लाग्न निर्देशन दिनुभयो। उनले यसको प्रत्यक्ष प्रभाव निर्वाचनको परिणाममा पर्ने भएकाले आजैदेखि तयारी थाल्न आग्रह गर्नुभयो।

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको संवाहक र उत्पीडित वर्ग, जाति तथा समुदायको पहिचान स्थापित गर्ने मुद्दा आफ्नो पार्टीको मुख्य आधार भएको बताउनुभयो। यस विचार भन्दा नयाँ र उन्नत विचार हाल नेपालको राजनीतिमा अन्य कसैको पनि नभएको उहाँको भनाइ छ।

साथै, सामाजिक सञ्जालमार्फत ‘नयाँ’ हुनुको गलत भाष्य निर्माण गर्न खोजिएकोमा संयोजक दाहालले आपत्ति जनाउनुभयो। उहाँले आफूलाई नयाँ भन्ने कतिपय शक्तिहरूलाई वैचारिक रूपमा सबैभन्दा पुरानो भएको आरोप लगाउनुभयो। उदार र दलाल पूँजीवादको पक्षपोषण गर्नेहरू विश्व इतिहासकै पुरानो विचारमा आधारित भएकाले उनीहरू कुनै पनि हालतमा नयाँ हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो।