जेन–जी आन्दोलन छानबिन आयोगको म्याद पुनः २५ दिन थप

44 Shares

काठमाडौँ । सरकारले जेन–जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप गर्ने निर्णय गरेको छ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो पटक आयोगको म्याद थप गर्ने निर्णय गरेको हो। आयोगको दोस्रो पटक थप गरिएको म्याद माघ २८ गते सकिँदै थियो।

नेपाल सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगको समयावधि पुनः थप गर्ने निर्णय भएको जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णयअनुसार भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्न गठित आयोगको म्याद २५ दिन थप गरिएको हो।

सरकारले गत असोज ५ गते विशेष अदालतका पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। तीन महिनाको कार्यादेशसहित गठित आयोगले समयमै काम सम्पन्न गर्न नसकेपछि पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकले पहिलो पटक एक महिनाका लागि म्याद थप गरेको थियो।

त्यसपछि पनि आयोगले प्रतिवेदन बुझाउन नसकेपछि माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकले दोस्रो पटक २० दिन म्याद थप गरेको थियो। दोस्रो पटक थपिएको समयावधिभित्र पनि काम पूरा हुन नसकेपछि सरकारले तेस्रो पटक पुनः २५ दिन म्याद थप गरेको हो।