नेप्सेमा दोहोरो अंकको गिरावट कायम, परिसूचक २६ अंकले घट्यो

127 Shares

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट सोमबार पनि कायम रहेको छ। आइतबार १०.२४ अंकले घटेको नेप्से सोमबार थप २६.०५ अंकले घट्दै २६७२.३९ विन्दुमा झरेर बन्द भएको हो। कारोबार सुरु हुँदा सूचक २६९८.४५ मा रहेको थियो।

आगामी फागुन २१ गते तय प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सेयर बजार भने नकारात्मक देखिएको छ। निर्वाचनका बेला लगानी बढ्ने अनुमान गरिए पनि बजारमा देखिएको निराशाले आम लगानीकर्ताको मनोबल कमजोर बनेको विश्लेषण गरिएको छ। सोमबार कारोबार सुरु भएदेखि नै सूचक निरन्तर ओरालो लागे पनि अन्तिम समयमा गिरावटको गति केही कम भएको थियो।

यस दिन नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। कुल २१२ कम्पनीको मूल्य घट्दा ४६ कम्पनीको मूल्य बढेको छ भने ६ कम्पनीको मूल्य स्थिर रह्यो। खानीखोला र रिडी हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने ९ प्रतिशतभन्दा बढीले बढेको छ।

समूहगत परिसूचकतर्फ पनि अधिकांश समूह घटेका छन्। बैंकिङ १०.६ अंक, विकास बैंक ७९.०७, वित्त ५८.१३, होटल १०४.२०, जलविद्युत् १९.६१, लगानी ०.९५, जीवन बीमा १२५.४२, उत्पादनमूलक ११४.२०, लघुवित्त ३०.०६, सामूहिक लगानी कोष ०.१०, निर्जीवन बीमा १५९.१७ र अन्य समूह ४६.७५ अंकले घटेका छन्। व्यापार समूह भने ९.०१ अंकले बढेको छ।

सोमबार नेप्सेमा ३२४ कम्पनीका १ लाख २ हजार २८१ कारोबारमार्फत २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर १० अर्ब ७७ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ। यो कारोबार रकम आइतबारको ११ अर्ब ५९ करोड रुपैयाँको तुलनामा कम हो।