काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धनसम्बन्धी रणनीतिक योजना तत्काल कार्यान्वयनमा ल्याउन सरकारसँग माग गर्नुभएको छ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आगामी दिनमा निजी क्षेत्रमाथि आगजनी, तोडफोड र लुटपाट जस्ता घटना दोहोरिन नदिन सरकारले उक्त योजना शीघ्र कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। निजी क्षेत्र केवल नाफाका लागि मात्रै नभई समग्र अर्थतन्त्र, सेवा प्रवाह र रोजगारी सिर्जनासँग जोडिएको क्षेत्र भएको कुरा सरकार र सर्वसाधारणलाई बुझाउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो।
अध्यक्ष ढकालले निजी क्षेत्रबिना शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका धेरै क्षेत्रको विकास सम्भव नहुने उल्लेख गर्दै यसले रोजगारी सिर्जना, आयआर्जन वृद्धि र राजस्व संकलनमा महत्वपूर्ण योगदान पुर्याउने स्पष्ट पार्नुभयो। निजी क्षेत्रलाई समग्र विकासको साझेदारका रूपमा बुझेर अघि बढ्दा मात्र सबै पक्षको हित हुने उहाँको भनाइ थियो।
उहाँले हालैका आन्दोलनका क्रममा भएका अप्रिय घटनाबाट पाठ सिक्दै भविष्यमा त्यस्ता घटना हुन नदिन सरकार सचेत हुनुपर्नेमा जोड दिनुभयो। निजी क्षेत्रमाथि हुने आक्रमण रोक्न र विश्वासको वातावरण बनाउन ‘निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीतिक योजना’ तत्काल कार्यान्वयन आवश्यक रहेको उहाँले बताउनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया