काठमाडौँ ।आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र इङ्ल्याण्डबीचको खेल जारी रहँदा नेपालले महत्वपूर्ण चौथो सफलता हात पारेको छ। खेलको मध्य चरणमा इंग्ल्याण्डको ब्याटिङ दबाबमा पार्ने क्रममा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले चौथो विकेट लिएका हुन्।
इङ्ल्याण्डका ब्याट्सम्यान जेकब बेथेललाई १३.४ ओभरमा आउट गर्दै ऐरीले टोलीलाई खेलमा फर्काउने प्रयास गरेका हुन्। बेथेललाई लोकेश बमले क्याच समातेका थिए। यसअघि लेग स्पिनर सन्दीप लामिछानेले तेस्रो विकेट लिँदै इंग्ल्याण्डको रनगति नियन्त्रण गर्ने प्रयास गरेका थिए।
खेलको १४ औँ ओभर जारी रहँदा इंग्ल्याण्डले करिब १२८ रन जोडिसकेको अवस्था रहेको बताइएको छ। मध्य ओभरतिर इंग्ल्याण्डले आक्रामक ब्याटिङ गर्ने प्रयास गरे पनि नेपालका बलरहरूले लगातार विकेट निकाल्दै दबाब सिर्जना गरेका छन्।
नेपालका बलिङ आक्रमणमा स्पिन र मध्यम गतिका बलरहरूको संयोजन प्रभावकारी देखिएको छ। विशेषगरी सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले बीच–बीचमा विकेट निकाल्दा इंग्ल्याण्ड ठूलो साझेदारी बनाउनबाट रोकिएको छ।
जारी खेलमा नेपालले फिल्डिङतर्फ पनि चुस्त प्रदर्शन गरेको देखिएको छ, जसका कारण इंग्ल्याण्डले अपेक्षाअनुसार तीव्र गतिमा रन बटुल्न सकेको छैन। खेलको पछिल्ला ओभरहरूमा इंग्ल्याण्ड ठूलो स्कोरतर्फ अघि बढ्ने कि नेपालले थप विकेट निकाल्दै रन रोक्ने भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।
टी–२० विश्वकपको पहिलो खेल भएकाले दुवै टोलीका लागि यो खेल महत्वपूर्ण मानिएको छ। नेपालले सुरुआती चरणमै प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै बलिङतर्फ सन्तुलित दबाब कायम राख्ने प्रयास गरिरहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया