वरिष्ठ अभिनेता सुनिल थापाको पार्थिव शरीर चलचित्र विकास बोर्डमा राखेर अन्तिम श्रद्धाञ्जली

147 Shares

काठमाडौँ । नेपाली चलचित्र जगतका वरिष्ठ तथा लोकप्रिय अभिनेता सुनिल थापाको पार्थिव शरीर आज चलचित्र विकास बोर्ड परिसरमा राखिएको छ। थापा (६८) हृदयघातका कारण शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएका थिए।

उनलाई बेहोस अवस्थामा अस्पताल भर्ना गरिएको थियो र बिहान साढे ७ बजे ईसीजी रिपोर्टबाट मृत्यु पुष्टि भएको अस्पताल स्रोतले जानकारी दिएको छ। थापा लामो समयदेखि शंखमूलस्थित आफ्नो अपार्टमेन्टमा बस्दै आएका थिए।

नेपाली सिनेमामा ‘राते काइँला’ को नामले चर्चित उनी चार दशकभन्दा बढी समयसम्म नेपाली, भारतीय (बलिउड) र भोजपुरी चलचित्रमा अभिनय गर्दै आएका थिए। ३०० भन्दा बढी चलचित्रमा सशक्त अभिनय गरेका थापाको अभिनयले नेपाली सिनेमामा खलनायकको भूमिकालाई नयाँ उचाई दिएको मानिन्छ।

उनले बलिउड चलचित्र ‘मैरी कोम’ मा प्रशिक्षकको भूमिका तथा ‘द फेमिली म्यान’ जस्ता चर्चित सिरीजमा पनि अभिनय गरेका थिए। उनको योगदान र व्यक्तित्वलाई श्रद्धाञ्जली दिन फिल्मकर्मीहरू, पत्रकार, कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरू बोर्ड पुगेका छन्।

थापाको निधनले नेपाली कला क्षेत्रमा अपूरणीय क्षति पुगेको चलचित्रकर्मीहरूले बताएका छन्। उनको अन्तिम श्रद्धाञ्जली र बिदाइका क्रममा बोर्ड परिसरमा धेरै व्यक्तिहरू उपस्थित भई श्रद्धा अर्पण गरिरहेका छन्।