सुरक्षा संवेदनशीलता बढेपछि ड्रोन प्रयोगमा कडाइ

128 Shares

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । निर्वाचन अवधिमा सुरक्षा संवेदनशीलता बढ्ने तथा सम्भावित जोखिम न्यूनीकरण गर्न केन्द्रीय सुरक्षा समितिले यस्तो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार निर्वाचनको निष्पक्षता, गोपनीयता र सुरक्षा सुनिश्चित गर्न ड्रोन प्रयोगमा रोक लगाइएको हो । उनले निर्वाचन अवधिमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको जानकारी दिए ।

हाल सामाजिक सञ्जालको दुरुपयोग बढ्दो क्रममा रहेकाले त्यसलाई नियन्त्रण गर्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक साइबर निगरानी युनिटलाई थप प्रभावकारी बनाइएको पनि उनले बताए । विशेषगरी निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी मिथ्या, भ्रमपूर्ण सूचना फैलाउने, घृणास्पद अभिव्यक्ति दिने तथा अफवाह फैलाउने गतिविधिमाथि निगरानी बढाइएको छ ।

प्रवक्ता काफ्लेका अनुसार निर्वाचनविरोधी गतिविधिमा संलग्न हुने व्यक्तिलाई कानुनी दायरामा ल्याउन सुरक्षा निकायले चुस्त निगरानी गरिरहेको छ । सम्भावित जोखिमयुक्त क्षेत्र, सञ्चार सम्पर्क कमजोर भएका मतदानस्थल तथा सुरक्षा चुनौती भएका स्थानको पहिचान गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाउने तयारी पनि भइरहेको छ ।

निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन गृह मन्त्रालयले सबै सुरक्षा निकाय तथा प्रशासनिक संयन्त्रलाई कुनै कमी कमजोरी हुन नदिन निर्देशन दिइसकेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२’ बमोजिम भइरहेको काम, जनशक्ति परिचालन, बन्दोबस्ती र सुरक्षा व्यवस्थाको समीक्षा गर्दै थप प्रभावकारी बनाउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

साथै मन्त्रालयले सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बन्न नागरिकलाई अनुरोध गरेको छ । मिथ्या, भ्रमपूर्ण तथा कसैको चरित्रमा आघात पुग्ने सूचना प्रसारण वा साझेदारी नगर्न आग्रह गर्दै यस्ता गतिविधि भए कानुनी कारबाही गरिने स्पष्ट चेतावनी समेत दिइएको छ ।

सरकारले आगामी निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने लक्ष्यसहित सुरक्षा तयारीलाई तीव्र बनाएको जनाएको छ ।