काठमाडौं क्षेत्र नं. ५ मा काँग्रेसको ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

44 Shares

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसले काठमाडौं क्षेत्र नं. ५ मा ५०१ सदस्यीय निर्वाचन परिचालन तथा प्रचार–प्रसार मूल समिति गठन गरेको छ। क्षेत्रीय सभापतिको नेतृत्वमा गठित उक्त समितिमा केन्द्रीय, प्रादेशिक तथा क्षेत्रीय तहका विभिन्न संरचनाका प्रतिनिधिहरू समेटिएको बताइएको छ।

समिति विस्तारसँगै काँग्रेसको चुनावी अभियानले तीव्रता लिने र नागरिकबीच आफ्ना योजना स्पष्ट तथा पारदर्शी रूपमा पु¥याउने रणनीति रहेको काँग्रेस महामन्त्री प्रदीप पौडेलले बताए। उनका अनुसार प्रतिस्पर्धी दलहरूले फैलाएका भ्रम चिर्दै मतदातासम्म तथ्यपरक एजेण्डा पु¥याउनेमा पार्टी केन्द्रित रहनेछ।

कार्यक्रममा बोल्दै पौडेलले नेपाली काँग्रेसलाई ‘पुरानो पार्टी’ भन्दै अप्रासंगिक बनाउने प्रयास भइरहेको उल्लेख गर्दै पुरानो हुनु अनुभव र ऐतिहासिक योगदानको संकेत भएको बताए। राणा शासनको अन्त्यदेखि पञ्चायतविरुद्धको आन्दोलन र बहुलवाद स्थापनासम्म काँग्रेसको नेतृत्वदायी भूमिका रहेको उनको भनाइ थियो। जन्मका आधारमा जेठो भए पनि विचारका आधारमा काँग्रेस सधैँ नयाँ र गतिशील रहेको उनले जिकिर गरे।

उनले काँग्रेसले विगतका कमजोरी स्वीकार गर्दै रूपान्तरणको मार्ग समातेको दाबी गरे। पार्टीको संस्थागत निर्णयबाट गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएको उल्लेख गर्दै नेतृत्व परिवर्तनको जनचाहनालाई नीतिगत स्पष्टता र आन्तरिक लोकतन्त्रमार्फत सम्बोधन गरिरहेको बताए।

देशका लागि काँग्रेसले अघि सारेका १० मुख्य एजेन्डामा रोजगारी सिर्जना, प्रशासनिक झन्झट घटाउने, ‘ब्रेन ड्रेन’ सँगै ‘ब्रेन वेस्ट’ समस्या समाधान, तथा भ्रष्टाचार नियन्त्रण प्रमुख रहेको पौडेलको भनाइ थियो। नेपालको जटिल राजनीतिमा मध्यमार्गी समन्वयकारी शक्ति काँग्रेस मात्र भएको दाबी गर्दै संविधान कार्यान्वयन र संस्थागत लोकतन्त्र सुदृढीकरणका लागि बहुमत आवश्यक रहेको उनले बताए।

काठमाडौं क्षेत्र नं. ५ सँग आफ्नो दीर्घ राजनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले रिङरोड सुधार, मेलम्ची खानेपानी विस्तार, विष्णुमती कोरिडोर तथा सार्वजनिक जग्गा संरक्षणजस्ता विषयमा निरन्तर पैरवी गर्दै आएको बताए। राजनीति पदका लागि नभई परिणाममुखी समाजसेवाका लागि हुनुपर्ने उनको धारणा थियो।

काँग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको र अबको लक्ष्य पार्टीलाई बहुमतमा पुर्‍याउने रहेको बताउँदै उनले कार्यकर्ताहरूलाई घरदैलो अभियान सशक्त बनाउन आग्रह गरे। डिजिटल पहुँच र प्रत्यक्ष सम्पर्क दुवै माध्यम प्रयोग गर्दै मतदातासम्म एजेन्डा पु¥याए ऐतिहासिक सफलता हासिल हुने विश्वास उनले व्यक्त गरे।