काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको असामयिक निधनको खबरले आफू मर्माहत भएको बताएकी छन्।
अभिनेता थापाको निधनसँगै नेपाली तथा भारतीय चलचित्र जगत्ले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाएको प्रधानमन्त्री कार्कीले उल्लेख गरेकी छन्। उनले ‘चिनो’का ‘राते काइँला’देखि ‘मेरी कोम’का प्रशिक्षकसम्म उनले निभाएका खलनायक र सहनायकका प्रभावशाली भूमिकाले करोडौँ दर्शकको मन जित्न सफल भएको बताइन्।
प्रधानमन्त्रीले जारी गरेको शोक सन्देशमा कलाकार थापाका हरेक चरित्र दर्शकका स्मृतिमा सदैव जीवित रहने उल्लेख गरिएको छ। सन्देशमा भनिएको छ, “चार दशकभन्दा बढी समयको उहाँको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहनेछ।”
प्रधानमन्त्री कार्कीले दिवंगत कलाकारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण कला क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गरेकी छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया