नेपाली फुटबलको संरचना पुनर्विचार गर्नुपर्ने बालेन शाहको भनाइ

36 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन शाहले नेपाली फुटबलको संरचना पुनर्विचार गर्नुपर्ने बताएका छन्।

काठमाडौंमा जारी राष्ट्रिय फुटबल लिगमा दर्शकको उपस्थिति न्यून देखिएको सन्दर्भ उल्लेख गर्दै उनले लोकप्रिय खेल फुटबलमै दर्शक घट्नु चिन्ताजनक भएको बताए। मोफसलका गोल्डकप प्रतियोगितामा हजारौं दर्शक उपस्थित हुने उदाहरण दिँदै उनले फुटबलको वास्तविक क्रेज काठमाडौं बाहिर रहेको धारणा राखे।

बालेन शाहले राष्ट्रिय लिगमा खेल्ने धेरै खेलाडी मोफसलबाट उत्पादन भए पनि लिग संरचनामा मोफसलका क्लबहरूको उपस्थिति सीमित रहेकोप्रति गुनासो गरे। केन्द्रित फुटबल संरचनाका कारण काठमाडौं बाहिरका क्लबलाई टिक्न गाह्रो भइरहेको भन्दै उनले फुटबललाई विकेन्द्रीकरण गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले फुटबल केही सीमित क्लब र काठमाडौंमै केन्द्रित नराखी देशभर व्यावसायिक रूपमा विस्तार गर्नुपर्ने बताए। साथै, मोफसलका क्लब र रंगशालामा पनि ठूला क्लबका खेल आयोजना गरी देशभर दर्शक र खेल संस्कृतिलाई जोड्नुपर्नेमा जोड दिए।

‘फुटबलकै कारण कुनै पनि खेलाडी विदेशिन नपरोस्,’ भन्दै उनले नीति निर्माणमा सुधार गरी नेपाली फुटबललाई देशव्यापी रूपमा फैलाउनुपर्ने धारणा व्यक्त गरे।

balen-ss.png