पार्टीको सन्देश मतदातासम्म पुर्‍याउन सके फागुन २१ को निर्वाचनमा शानदार नतिजा आउँछ : सभापति थापा

170 Shares

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको सन्देश प्रभावकारी रूपमा मतदातामाझ पुर्‍याउन सकिए आगामी फागुन २१ गते हुने निर्वाचनमा कांग्रेसले शानदार परिणाम ल्याउने दाबी गर्नुभएको छ।

शुक्रबार कांग्रेस गण्डकी प्रदेश कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले निर्वाचनमा पार्टीको जित नेतृत्व र कार्यकर्ताको सक्रियतामा निर्भर रहने उल्लेख गर्दै सबैलाई सोहीअनुसार मेहनत गर्न आग्रह गर्नुभयो। उहाँले विगतका निर्वाचनमा कांग्रेसप्रति असन्तुष्ट बनेका मतदातासँग सम्पर्क विस्तार गरी पार्टीको नीति र सन्देशबारे स्पष्ट जानकारी दिनुपर्नेमा जोड दिनुभयो।

सभापति थापाले जेन–जी (नवपुस्ता) सँग समेत संवाद र छलफल गर्दै पार्टी अघि बढिरहेको बताउनुभयो। पार्टीभित्र देखिएका असन्तुष्टि र मतभिन्नताका समस्या क्रमशः निर्मूल हुँदै गएको उहाँको भनाइ थियो।

उहाँले आगामी निर्वाचनमा पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने विषयमा पूर्वसभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरूसँग निरन्तर संवाद भइरहेको जानकारी पनि दिनुभयो।

सभापति थापाले अब बन्ने सरकार कांग्रेसको मात्रै नभई व्यापक राष्ट्रिय समर्थनसहितको हुने उल्लेख गर्दै कार्यकर्तालाई ‘अबकी बार सय पार’को नारा लिएर चुनावी मैदानमा होमिन आग्रह गर्नुभयो।