काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले चैत्रको पहिलो हप्ताभित्र संघीय संसद भवनको निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल तथा निर्माण कार्यमा संलग्न सम्बन्धित पक्षलाई बोलाएर अध्यक्ष दाहालले कुनै पनि अवरोध नआउने गरी समयमै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनुभएको हो।
नयाँ संसद भवनबाटै प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालन गर्ने तयारी भइरहेकाले बैठक कक्ष निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाउन उहाँले जोड दिनुभयो। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अध्यक्ष दाहालले निर्माण कार्यको नियमित अनुगमन गर्न र हप्ता–हप्ता प्रगति विवरण सचिवालयलाई उपलब्ध गराउन समेत निर्देशन दिनुभएको छ।
सो अवसरमा शहरी विकास मन्त्रालयका सचिव सिग्देलले संसद भवनको निर्माण कार्य करिब ९२ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिँदै बाँकी काम पूरा गरी आगामी चैत्रको पहिलो हप्ताभित्र निर्माण सम्पन्न गर्न सकिने ब्रिफिङ दिनुभएको थियो।
आगामी फागुन २१ गते हुने निर्वाचनपछि नयाँ संसद भवन सिंहदरबारबाटै प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक सञ्चालन गर्ने तयारी संसद सचिवालयले गरिरहेको छ। सोही तयारीअनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक कक्ष निर्माणमा विशेष जोड दिएर काम अघि बढाउन अध्यक्ष दाहालले सम्बन्धित मन्त्रालय तथा निर्माण पक्षलाई सचेत गराउनुभएको हो।
संघीय संसद सचिवालयले चैत्रको पहिलो हप्तामै संसद भवनको निर्माण कार्य सम्पन्न भई सोही भवनबाट बैठक सञ्चालन हुनेमा विश्वास व्यक्त गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया