देशभर र विदेशस्थित नेपाली दूतावासमा प्रजातन्त्र दिवस मनाउने तयारी

129 Shares

काठमाडौं । यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रूपमा मनाइने भएको छ। विसं २००७ फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी पहिलोपटक प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले आउँदो फागुन ६, ७ र ८ गते कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै मूल समारोह समिति गठन गरेको छ। समितिमा प्रधानमन्त्री अध्यक्ष रहनेछन् भने नेपाल सरकारका मन्त्री, काठमाडौँ उपत्यकाका सबै नगरपालिकाका प्रमुख, मुख्यसचिव, प्रधानसेनापति, नेपाल सरकारका सचिवहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सदस्य रहेका छन्। गृह मन्त्रालयका सचिव मूल समारोह समितिका सदस्यसचिव हुनेछन्।

निर्णयअनुसार तीन दिनसम्म नेपालभर साथै विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरूमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ। मूल समारोहको कार्यक्रम काठमाडौँको सैनिक मञ्च, टुँडिखेलमा गरिनेछ।

समारोहमा सांस्कृतिक कार्यक्रम, सैनिक प्रदर्शन, नागरिक सहभागिता र शैक्षिक कार्यक्रमहरू पनि समावेश हुनेछन्, जसले प्रजातन्त्रको महत्व र उपलब्धिको स्मरण गराउने लक्ष्य राखेको आयोजकले जनाएको छ।