चुनाव नजिकिँदै, सुरक्षित र समयमै निर्वाचन सुनिश्चित : भण्डारी

133 Shares

काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीहरूमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्। बिहीबार, भक्तपुरको जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइस्थल अनुगमन गर्दै भण्डारीले केही उम्मेदवारविरुद्ध उजुरी आएको र आयोगले त्यसबारे अनुसन्धान गरिरहेको बताएका छन्।

उहाँले भने, “उम्मेदवारहरूले आवश्यक स्पष्टिकरण दिइरहेका छन्। आयोगले उजुरीको अध्ययनपछि आवश्यक निर्णय लिनेछ।”

भण्डारीले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ कार्य सक्रिय रहेको जानकारी दिए। हालसम्म ७२ लाख ६० हजार मतपत्र छपाइ भइसकेको५ हजार ८ सय २५ बाकस प्याकिङ्ग भइसकेको छ। प्रतिनिधि सभा निर्वाचनका लागि जम्मा २ करोड ३ लाख २३ हजार मतपत्र, र समानुपातिक प्रणालीका लागि २ करोड ८ लाख ३० हजार मतपत्र तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ।

निर्वाचन आयोगले मतपत्र छपाइ, प्याकिङ्ग र वितरणमा पारदर्शिता कायम गर्दै समयमै सुरक्षित निर्वाचन सम्पन्न गर्ने लक्ष्य राखेको छ। आयोगले उम्मेदवारहरूलाई पनि आचारसंहिता पालना गर्न र नागरिकहरूले निर्धक्क मतदान गर्न सक्ने वातावरण सुनिश्चित गर्न आग्रह गरेको छ।