काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका तनहुँ–१ का प्रतिनिधिसभा उम्मेदवार स्वर्णिम वाग्लेले आफूविरुद्ध सामाजिक सञ्जालमा झुटा तथा भ्रामक सामग्री फैलाइएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा औपचारिक उजुरी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाएर आफ्नो प्रतिष्ठामा आँच पुर्याउने तथा सामाजिक सद्भाव खल्बल्याउने प्रयास भएको आरोप लगाएका छन्।
वाग्लेले तयार पारिएका नक्कली सामग्री, अफवाह र भ्रामक सूचनाले आफ्नो व्यक्तिगत छवि मात्र नभई समग्र सामाजिक वातावरणमा समेत नकारात्मक असर पार्ने भन्दै त्यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूहको पहिचान गरी कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन्।
साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले वाग्लेबाट उजुरी प्राप्त भएको पुष्टि गर्दै उजुरीका आधारमा प्रारम्भिक अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्। उनका अनुसार सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, गलत विवरण सार्वजनिक गर्ने तथा व्यक्तिगत प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यका सामग्रीबारे छानबिन भइरहेको छ।
उजुरीमा विशेषगरी धर्म, व्यक्तिगत अवस्था तथा सामाजिक पहिचानसँग जोडिएका विषयलाई लिएर भ्रम सिर्जना गर्ने प्रयास भएको उल्लेख गरिएको छ। वाग्लेले यस्ता सामग्रीले सामाजिक सौहार्दता बिग्रन सक्ने खतरा औंल्याउँदै जिम्मेवार ढंगले अनुसन्धान गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
उजुरीमा उनले स्पष्ट रूपमा भनेका छन्, “सामाजिक सञ्जालमा झुटा र भ्रामक समाचार सिर्जना गरी मानमर्दन र सामाजिक सौहार्दता खल्बल्याउने उद्देश्यले सामग्री प्रचारप्रसार गर्नेहरूलाई पत्ता लगाई हदैसम्मको कारबाही गरियोस्।”
त्यस्तै आफूलाई बागमती प्रदेशकी सांसद भनेर चिनाउने लक्ष्मी घिमिरे तथा मोहन लामा रूम्बाबाट प्रसारित सामग्रीप्रति पनि वाग्लेले गम्भीर आपत्ति जनाएका छन्। ती सामग्रीले आफ्नो प्रतिष्ठामा नकारात्मक प्रभाव पार्ने नियत देखिएको भन्दै उनले त्यसतर्फ पनि अनुसन्धान गर्न माग गरेका छन्।
पछिल्लो समय चुनावी माहोल नजिकिँदै जाँदा सामाजिक सञ्जालमा गलत सूचना, अफवाह र चरित्रहत्या गर्ने सामग्री फैलिने क्रम बढ्दै गएको विश्लेषकहरू बताउँछन्। यसले निर्वाचनको निष्पक्षता, सामाजिक सद्भाव तथा लोकतान्त्रिक अभ्यासमै असर पार्न सक्ने भन्दै सरोकारवालाले जिम्मेवार सामाजिक सञ्जाल प्रयोगको आवश्यकता औंल्याउँदै आएका छन्।
प्रहरीले भने उजुरीका आधारमा तथ्य संकलन, डिजिटल सामग्री परीक्षण तथा सम्बन्धित व्यक्तिहरूको पहिचान गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। दोषी पुष्टि भए प्रचलित साइबर कानुनअनुसार कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ।
यस घटनाले चुनावी सन्दर्भमा सामाजिक सञ्जालको प्रयोग, सूचना सत्यापन र जिम्मेवार सञ्चारको विषय फेरि चर्चामा ल्याएको छ। अनुसन्धान पूरा भएपछि थप विवरण सार्वजनिक गरिने प्रहरीको भनाइ छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया