मधेश प्रदेशमा उनेपाको घरदैलो अभियान सुरु

151 Shares

काठमाडौँ – उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले मधेश प्रदेशमा घरदैलो अभियान सुरु गर्नुभएको छ।

जनकपुरबाट अभियान प्रारम्भ गर्दै अध्यक्ष घिसिङले मधेश प्रदेश उच्च जनसंख्या र धेरै निर्वाचन क्षेत्र भएको महत्वपूर्ण प्रदेश भएकाले यहाँ पार्टीको सशक्त उपस्थिति रहेको दाबी गर्नुभयो। उहाँका अनुसार प्रदेशका ८ वटै जिल्लाका विभिन्न क्षेत्रमा पार्टीका उम्मेदवार रहेका छन् र धेरै स्थानमा उनेपा प्रतिस्पर्धामा रहेको छ।

सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष घिसिङले उनेपा सामाजिक सञ्जालको प्रभावले मात्र स्थापित नभई जनतासँगको प्रत्यक्ष सम्पर्क र कामका आधारमा “अर्गानिक” रूपमा स्थापित भएको दाबी गर्नुभयो। उहाँले सामाजिक र आर्थिक रूपान्तरण देशका लागि अपरिहार्य भएको उल्लेख गर्दै उनेपा नै परिवर्तनको नेतृत्व गर्ने शक्ति बन्ने बताउनुभयो।

निर्वाचनपछि देशको प्रधानमन्त्री बनेर परिवर्तनको एजेन्डा अघि बढाउने उहाँको भनाइ थियो। प्रधानमन्त्रीको छनोट भाषणले होइन, कामका आधारमा जनताले गर्ने उहाँले उल्लेख गर्नुभयो।

अध्यक्ष घिसिङले जेनजी आन्दोलनपछि उनेपा सबैभन्दा नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको जिकिर गर्दै राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गरेपछि पार्टी अझ सशक्त बनेको दाबी गर्नुभयो।