अभ्यास खेलमा भारतद्वारा दक्षिण अफ्रिका ३० रनले पराजित

183 Shares

काठमाडौं । पुरुष टी–२० विश्वकपअन्तर्गत अभ्यास खेलमा भारतले दक्षिण अफ्रिकामाथि ३० रनको प्रभावशाली जित हात पारेको छ।

नवी मुम्बईमा बुधबार सम्पन्न खेलमा भारतले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४० रनको विशाल योगफल खडा गरेको थियो। भारतको आक्रामक सुरुवातमा इशान किशन चम्किए। उनले केवल २० बलमा ५३ रनको विस्फोटक अर्धशतक प्रहार गर्दै दक्षिण अफ्रिकी बलरहरूलाई दबाबमा राखे।

तिलक वर्माले पनि उत्कृष्ट साथ दिँदै १९ बलमा ४५ रन बनाए। त्यसपछि सूर्यकुमार यादव र हार्दिक पाण्ड्याले अन्तिम ओभरहरूमा तीव्र गतिमा रन थप्दै टोलीलाई मजबुत अवस्थामा पुर्‍याए।

बलिङतर्फ दक्षिण अफ्रिकाका मार्को यान्सेन तुलनात्मक रूपमा किफायती देखिए। उनले आफ्नो स्पेलमा १ विकेट लिँदै मात्र १८ रन खर्चिएका थिए।

२ सय ४१ रनको कठिन लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै २ सय १० रन मात्र बनाउन सक्यो। भारतका बलरहरूले मध्यक्रममा नियमित विकेट झार्दै खेल आफ्नो पक्षमा राखेका थिए।

यस जितसँगै भारतले प्रतियोगिताअघि आत्मविश्वास बढाएको छ।