काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक्स र नेपाल क्रिकेट संघ (क्यान) बीच भएको साझेदारीअन्तर्गत नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। क्यान र एक्सट्रिम इनर्जी ड्रिंक्सबीच जर्सी प्रायोजनसम्बन्धी दुई वर्षे सम्झौता माघ २ गते सम्पन्न भएको थियो।
सोही सम्झौताअनुसार तयार गरिएको जर्सी बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता र क्यानका सचिव पारस खड्काले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो। कार्यक्रममा क्यानका पदाधिकारी, राष्ट्रिय महिला टोलीका खेलाडी, प्रायोजक कम्पनीका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा एक्सट्रिम इनर्जी ड्रिंक्सले नेपाली क्रिकेट, विशेषगरी महिला क्रिकेटको दीर्घकालीन विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। जर्सी प्रायोजनले खेलाडीहरूलाई थप प्रोत्साहन, आत्मविश्वास र व्यावसायिक वातावरण प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ। यस सहकार्यले टोलीको तयारी, मनोबल र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमतामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव मेहताले निजी क्षेत्रबाट प्राप्त सहयोगले नेपाली क्रिकेटको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। सार्वजनिक गरिएको नयाँ जर्सीले नेपाली महिला क्रिकेट टोलीको पहिचानलाई अझ सशक्त बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।
यसै अवसरमा एक्सट्रिम इनर्जी ड्रिंक्सले भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता हेर्न जाने नेपाली समर्थकहरूका लागि मुम्बईस्थित वाङखडे स्टेडियममा दुई हजार थान नेपाली क्रिकेट टोलीका जर्सी निःशुल्क वितरण गर्ने जानकारी पनि दिएको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया