काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्यालले प्रतिनिधिसभा पुनःस्थापना सम्बन्धी मुद्दा छिटो टुंग्याउन सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका छन्।
मंगलबार काठमाडौंमा नेपाल कानून समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अदालतमा विचाराधीन मुद्दाले तोकिएको समयमा निर्वाचन हुने विषयमा अन्योल बढाउने भएकाले छिटो फैसला हुनुपर्ने बताएका हुन्। निर्वाचनको प्रक्रिया अघि बढिसकेको अवस्थामा सर्वोच्च अदालतले समयमै निर्णय दिनु उपयुक्त हुने उनको भनाइ थियो।
अर्यालले राज्यका निकायहरूले आफ्नो जिम्मेवारी समयमै पूरा नगर्दा मुलुकमा विभिन्न समस्या उत्पन्न हुने गरेको उल्लेख गर्दै सुशासनका लागि सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्ने धारणा राखे।
उनले भने, “चुनाव तोकिएकै समयमा हुनुपर्छ। तर सर्वोच्च अदालतमा रहेका विषयहरू पनि समयमै टुंग्याइनु राम्रो हुन्छ। निर्वाचन कार्यक्रम अघि बढिसकेको छ, त्यसैले अन्योल नराखी निर्णय दिनुपर्छ। राज्यका अंगहरूले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह नगर्दा विगतमा पनि समस्या आएका छन्।”
पूर्वमुख्यसचिव अर्यालले निर्वाचनको मिति सार्नेभन्दा तोकिएकै मितिमा सबै तहको निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया