‘फ्रि भिसा–फ्रि टिकट’ व्यवस्था खारेज गर्नुपर्ने श्रममन्त्री भण्डारीको प्रस्ताव

165 Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीलाई वास्तवमै श्रमिकमैत्री बनाउन ‘फ्रि भिसा–फ्रि टिकट’को व्यवस्था खारेज गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले वैदेशिक रोजगारी क्षेत्रमा देखिएका विकृति हटाउन नीतिगत सुधार अपरिहार्य रहेको बताउनुभयो। उहाँले एक महिनाभित्र वैदेशिक रोजगारी क्षेत्रमा रहेका सबै प्रकारका सिन्डिकेट तोड्ने दाबी समेत गर्नुभयो।

मन्त्री भण्डारीका अनुसार श्रमिकलाई जालमा पार्ने खालका कार्यविधि खारेज गर्दै नयाँ सुधारका कदम अघि बढाइनेछन्। उहाँले वैदेशिक रोजगारीसँग जोडिएको ‘फ्रि भिसा–फ्रि टिकट’ व्यवस्था व्यवहारमा समस्याग्रस्त बनेको उल्लेख गर्नुभयो।

“हेर्दा सुन्दा राम्रो देखिए पनि फ्रि भिसा–फ्रि टिकटको व्यवस्थाले राजस्व चुहावट, कर छलि र संगठित अपराधलाई बढावा दिएको छ,” मन्त्री भण्डारीले भन्नुभयो, “यस्ता पपुलिष्ट नाराले कहिलेसम्म हामीलाई गुमराहमा पारिरहने? अब यसलाई खारेज गरेर वास्तविक सुधारतर्फ जानुपर्छ।”

उहाँले वैदेशिक रोजगार ऐनअन्तर्गत नियमावलीको नियम ५२ (३) ले कार्यविधिमार्फत क्षेत्रमा देखिएका समस्या र बाधा समाधान गर्न सकिने व्यवस्था गरेको उल्लेख गर्नुभयो। सोही आधारमा वैदेशिक रोजगारीसम्बन्धी कार्यविधि संशोधन गर्न अन्तरिम सरकारको कार्यकालमै समिति गठन भइसकेको जानकारी उहाँले दिनुभयो।

समितिले सरोकारवाला निकायहरूसँग सुझाव संकलन गर्दै काम गरिरहेको र प्राप्त सुझावका आधारमा आवश्यक संशोधन प्रक्रिया अघि बढाइने मन्त्री भण्डारीको भनाइ छ।