मतदातालाई कपडा वितरण गरेको आरोपमा अशोक टेमानीसँग आयोगले स्पष्टीकरण माग्यो

188 Shares

काठमाडौं । पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अशोक टेमानीविरुद्ध मतदातालाई कपडा वितरण गरेको आरोपसहित निर्वाचन आयोगमा उजुरी परेको छ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार टेमानीविरुद्ध उजुरी प्राप्त भएपछि आयोगले उनीसँग स्पष्टीकरण मागेको हो। आयोगले पठाएको पत्रमा टेमानीले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मतदातालाई जिन्सी (कपडा) वितरण गरेको भन्ने गुनासो आएको उल्लेख गरिएको छ।

आयोगका अनुसार यस्तो कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (व) विपरीत हुन सक्छ। उक्त प्रावधानले मतदातालाई प्रभावित पार्ने उद्देश्यले जिन्सी वा अन्य वस्तु वितरण गर्न निषेध गरेको छ।

स्पष्टीकरण पत्रमा आयोगले सोधेको छ— मतदातालाई प्रभावित पार्ने उद्देश्यले जिन्सी वितरण गरेको कार्य आचारसंहिताको उल्लंघन हो वा होइन ? यदि उल्लंघन गरेको प्रमाणित भएमा आचारसंहिता र प्रचलित निर्वाचन कानुनबमोजिम किन कारबाही नगर्ने भन्नेबारे जवाफ दिन भनिएको छ।

आयोगले पत्र प्राप्त भएको ४८ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय पर्सामा पुग्ने गरी लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।