काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन्।
बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो। बैंकिङ क्षेत्रमा करिब २५ वर्षको अनुभव हासिल गरेका शर्मा अनुभवी र कुशल बैंकरका रूपमा परिचित छन्।
उनी यसअघि सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रहिसकेका छन्। त्यसअघि माछापुच्छ्रे बैंकको सीईओको जिम्मेवारी पनि उनले सम्हालेका थिए। साथै, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक र एनएमबी बैंकलगायत विभिन्न वाणिज्य बैंकमा काम गरेको अनुभव पनि उनीसँग रहेको छ।
बैंकका निवर्तमान सीईओ अशोक शेरचनले आइतबार पदबाट राजीनामा दिएपछि सञ्चालक समितिले उक्त राजीनामा स्वीकृत गर्दै शर्मालाई नयाँ सीईओमा नियुक्त गरेको हो।
शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र भौतिकशास्त्र विषयमा स्नातकोत्तर गरेका छन्। उनले सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया