काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि पार्टीको जनमत बुझ्न सातै प्रदेशमा नेताहरू खटाएको छ।
उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको निर्वाचन परिचालन समितिले प्रदेश–प्रदेशमा नेताहरूलाई पठाएर स्थलगत रूपमा जनता, समर्थक र स्थानीय परिस्थिति बुझ्ने जिम्मेवारी दिएको छ। प्राप्त जानकारीअनुसार, बिग्रिएको स्थानको विश्लेषण गरी प्रचार–प्रसार रणनीति निर्माण गर्ने तयारी पनि पार्टीले अघि बढाइरहेको छ।
सहमहामन्त्री डा. डिला संग्रौला पन्तले आफू कोशी प्रदेशमा खटिएको र सो प्रदेशमा स्थलगत अध्ययन तथा ब्रिफिङ पछि रणनीति तयार गर्ने काम भइरहेको जानकारी दिनुभयो।
त्यस्तै, मधेश प्रदेशमा सहमहामन्त्री मुक्ताकुमारी यादवको नेतृत्वमा वर्तमान र निवर्तमान केन्द्रीय सदस्य तथा पूर्व पदाधिकारीहरूले वस्तुस्थिति बुझ्ने काम गरिरहेका छन्। सो क्षेत्रमा निवर्तमान सहमहामन्त्री महेंद्र यादव र पूर्व उपसभापति बिमलेन्द्र निधि प्रत्यक्षतर्फ उम्मेदवार रहेका छन्। यादव धनुषा–४ र निधि धनुषा–३ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया