काठमाडौं । यातायात व्यवसायीहरूले सार्वजनिक यातायात क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेर निर्वाचन घोषणा–पत्र सार्वजनिक गर्न सबै राजनीतिक दल तथा उम्मेदवारहरूलाई आग्रह गरेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले सञ्चारकर्मीसँग कुरा गर्दै सार्वजनिक यातायातलाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन नीतिगत प्रतिबद्धता आवश्यक रहेको बताए। उनले सार्वजनिक यातायात सुधारलाई प्राथमिकता दिने दल र उम्मेदवारलाई आगामी निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
महासंघले देशभरका यातायात व्यवसायी र मजदुरहरूलाई पनि सार्वजनिक यातायातमैत्री घोषणा–पत्र ल्याउन दलहरूलाई दबाब दिन अपिल गरेको छ। वरिष्ठ उपाध्यक्ष सिटौलाले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउने विषयमा राजनीतिक दलहरूले स्पष्ट धारणा नदिए आगामी निर्वाचनमा त्यसको असर पर्न सक्ने चेतावनी दिए।
यसैगरी, सवारी साधन आयात प्रक्रियामा सहजीकरण हुनेगरी नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता पनि घोषणा–पत्रमा समेट्न महासंघले दलहरूको ध्यानाकर्षण गराएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया