काठमाडौं : निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको जनाएको छ। आयोगका अनुसार उजुरी, योग्यता नपुगेको अवस्था तथा सम्बन्धित राजनीतिक दलबाट प्राप्त विवरणका आधारमा ती नाम हटाइएका हुन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका २१ जनासहित विभिन्न कारणले ७६ उम्मेदवार अयोग्य ठहरिएको जानकारी दिए। हटाइएकामध्ये २५ जनाको नाम प्रदेशसभा बन्दसूचीमा कायम रहेको थियो भने आयोगले तोकेको जरिवाना नतिरेका १० जनाको नाम पनि सूचीबाट हटाइएको छ।
त्यसैगरी, २५ वर्ष उमेर नपुगेका ४ जना, मतदाता नामावलीमा नाम नभएका १ जना, पिछडिएको क्षेत्रको मतदाता सूचीमा समावेश नभएका २ जना, महिलाको कोटामा पुरुष उम्मेदवार पेश गरिएको १ जना, राजनीतिक दलकै अनुरोधमा हटाइएका १० जना तथा अन्य विविध कारणले २ जनाको नाम बन्दसूचीबाट हटाइएको आयोगले स्पष्ट पारेको छ।
यससम्बन्धी विस्तृत विवरण आयोगको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया