तोेकिएकै समयमा स्वच्छ निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की

163 Shares

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ।

सोमबार (माघ १९) राष्ट्रियसभा बैठकलाई पहिलोपटक सम्बोधन गर्दै उहाँले सरकारको प्रमुख प्राथमिकतामा प्रतिनिधिसभा निर्वाचनको तयारी र सुशासनका क्षेत्रमा भइरहेका काम रहेको जानकारी दिनुभयो। माघ ४ गतेदेखि सुरु भएको राष्ट्रियसभाको १९औँ अधिवेशनअन्तर्गतको पाँचौँ बैठकमा प्रधानमन्त्री कार्कीले सरकारका गतिविधिबारे सदस्यहरूलाई अवगत गराउनुभएको हो।

उहाँले आफू कुनै शासकीय आकांक्षा बोकेर प्रधानमन्त्री बनेको नभई विषम परिस्थितिमा जिम्मेवारी सम्हालेको स्पष्ट पार्दै तोकिएको समयमा निर्वाचन सम्पन्न गरी नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर रहेको बताउनुभयो।

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि गठन भएको अन्तरिम सरकारको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्री कार्कीले हालै सम्पन्न राष्ट्रियसभा निर्वाचनमा विजयी सदस्यहरूलाई बधाईसमेत दिनुभयो।

त्यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तद्वारा प्रस्तुत ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको पनि प्रधानमन्त्री कार्कीले जवाफ दिनुभएको थियो।