रवि लामिछानेको दोहोरो राहदानी मुद्दाबारे रिटमा आज सर्वोच्चमा पेशी

39 Shares

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग सम्बन्धित दोहोरो राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथि सोमबार सर्वोच्च अदालतमा पेशी तोकिएको छ।

अधिवक्ता युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि रिट दायर गर्नुभएको थियो। तत्कालीन महान्यायाधिवक्ता दीनमणि पोखरेलले मुद्दा नचलाउने गरेको निर्णय कानूनविपरीत रहेको दाबी रिटमा गरिएको छ।

उक्त रिट न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा परेको छ। तर, पेशी सूचीमा १२औँ नम्बरमा रहेकाले सोमबार नै सुनुवाइ हुने सम्भावना भने न्यून रहेको बताइएको छ।

यसअघि सर्वोच्च अदालतले यस प्रकरणमा तीन पटकसम्म सम्बन्धित फाइल मगाउने आदेश दिएको थियो। अदालतले राहदानी विवादमा मुद्दा नचलाउने निर्णय किन गरिएको हो भन्ने कारण महान्यायाधिवक्ता कार्यालयसँग माग गरेको थियो। आवश्यक कागजात प्राप्त भएपछि पुनः सुनुवाइका लागि पेशी तोकिएको हो।

यसअघि अदालतको फैसलापछि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरे पनि दोहोरो राहदानी बोकेको विषयमा कानुनी प्रश्न बाँकी रहेको थियो। सोही विषयमा मुद्दा नचलाउने निर्णय भएपछि त्यसविरुद्ध रिट दायर गरिएको हो।