काठमाडौं महानगरद्वारा ७० वर्षमाथिका जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा सुरु

191 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले ७० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकका लागि घरदैलोमै पुगेर आधारभूत स्वास्थ्य सेवा तथा परीक्षण सुरु गरेको छ।

आइतबार आयोजित एक कार्यक्रमबीच महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त कार्यक्रमको शुभारम्भ गर्नुभयो। कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकहरूको रक्तचाप (प्रेसर) जाँच, उनीहरूले सेवन गरिरहेका औषधिको विवरण संकलन, मेडिकल हिस्ट्री अभिलेखीकरण तथा आवश्यक आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने जनाइएको छ।

कार्यवाहक प्रमुख डंगोलका अनुसार स्वास्थ्य प्रवर्द्धन केन्द्रसम्म पुग्न सक्ने ज्येष्ठ नागरिकलाई केन्द्रमै सेवा दिइनेछ भने हिँडडुल गर्न नसक्ने वा दीर्घरोगका कारण नियमित स्वास्थ्य संस्थासम्म जान असमर्थ ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्यकर्मीमार्फत सेवा प्रदान गरिनेछ।

उहाँले यस अभियानसँगै ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थाबारे सर्वेक्षण पनि सँगसँगै सञ्चालन भइरहेको बताउनुभयो। सङ्कलित तथ्यांकले आगामी वर्षको नीति तथा कार्यक्रमलाई प्रमाणमा आधारित बनाउन सहयोग पुग्ने विश्वास महानगरको छ।

डंगोलले भन्नुभयो, “आजबाट हामीले ७० वर्ष र सोभन्दा माथि उमेर समूहका आमाबुबाहरूलाई घरघरमै आधारभूत स्वास्थ्य सेवा दिने कार्यक्रम सुरु गरेका छौँ। उहाँहरूको स्वास्थ्य अवस्था कस्तो छ भन्ने सर्वेक्षण पनि सँगसँगै भइरहेको छ। आगामी वर्षको नीति तथा कार्यक्रम प्रमाणमा आधारित बनोस् भन्ने हाम्रो उद्देश्य हो।”

महानगरपालिकाले शारीरिक अशक्तता, दीर्घरोग वा अन्य कारणले स्वास्थ्य संस्था पुग्न नसक्ने ज्येष्ठ नागरिकलाई लक्षित गर्दै घरमै स्वास्थ्यकर्मी पठाई जाँच तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने जनाएको छ।