त्रिशूलीमा राष्ट्रिय र्‍याफ्टिङ र क्यानोइङ स्लालोम च्याम्पियनसिप सुरु

159 Shares

काठमाडौं । नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघ (एनआरसिए) को आयोजना तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा चितवनको फिस्लिङस्थित त्रिशूली नदीमा ‘९औँ राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिप’ तथा ‘१४औँ राष्ट्रिय क्यानोइङ स्लालोम च्याम्पियनसिप’ आइतबारदेखि सुरु भएको छ।

प्रतियोगिताको औपचारिक उद्घाटन संघका अध्यक्ष राजीव श्रेष्ठले गरेका हुन्। उद्घाटन समारोहमा उनले प्रतियोगिताका टेक्निकल हेड निम बहादुर मगरलाई पेडल हस्तान्तरण गर्दै खेलको सुरुवात गरे।

फेब्रुअरी १ देखि ३ सम्म सञ्चालन हुने प्रतियोगितामा देशका विभिन्न नदी क्षेत्र र क्लबबाट ५१ जना खेलाडी सहभागी छन्। त्रिशूली नदीको छालमा खेलाडीहरूले आफ्नो साहस, सहनशीलता र प्राविधिक सीप प्रदर्शन गर्दै र्‍याफ्टिङ र क्यानोइङका विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेका छन्।

आयोजकका अनुसार प्रतियोगितालाई राष्ट्रिय प्रतिस्पर्धासँगै अन्तर्राष्ट्रिय छनोटको आधारका रूपमा पनि हेरिएको छ। क्यानोइङ स्लालोम विधातर्फ उत्कृष्ट पाँचभित्र पर्ने खेलाडीहरूलाई आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियाली खेलकुदका लागि पहिलो चरणको छनोटमा समावेश गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए।

एसियाली खेलकुदमा र्‍याफ्टिङ र क्यानोइङ समावेश गरिएकाले यस प्रतियोगिताले नेपालका तर्फबाट सक्षम खेलाडी छनोट गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ।

प्रतियोगिता मंगलबारसम्म सञ्चालन हुनेछ। क्यानोइङतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः २५ हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँ नगद पुरस्कार पाउनेछन् भने र्‍याफ्टिङतर्फ प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेले क्रमशः ६५ हजार, ३५ हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।