भोटाहिटीस्थित साइबर ब्यूरो भवन महानगरलाई, बदलामा रामशाहपथको जग्गा सरकारको नाममा

160 Shares

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरो कार्यालय रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरपालिकालाई प्रयोग गर्न गृह मन्त्रालयले सहमति दिएको छ।

साइबर ब्यूरोले प्रयोग गर्दै आएको कित्ता नम्बर ३५३, ३५४ र ३५५ को कुल ४ आना २ पैसा १ दाम क्षेत्रफलको जग्गा र त्यसमा बनेको भवन महानगरपालिकाले प्रयोग गर्नेगरी सहमति प्रदान गरिएको हो। बदलामा रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको ७ रोपनी २ पैसा ३ दाम जग्गा नेपाल सरकारको नाममा दर्ता गर्न महानगर सहमत भएको छ।

आइतबार गृह मन्त्रालयमा भएको छलफलपछि उक्त निर्णय गरिएको गृह मन्त्रालयका उपसचिव वर्तराज पौडेलले जानकारी दिए। उनका अनुसार, भोटाहिटी चोकस्थित समरजंग कम्पनी कार्यालयको नाममा रहेको र हाल साइबर ब्यूरोले प्रयोग गर्दै आएको उक्त जग्गा तथा भवन महानगरलाई उपयोगका लागि दिने निर्णय भएको हो।

उपसचिव पौडेलका अनुसार, रामशाहपथस्थित जग्गा नेपाल सरकारको नाममा दर्ता भइसकेपछि कुल क्षेत्रफलमध्ये कम्तीमा ८ आना जग्गा समरजंग कम्पनी कार्यालयका लागि र बाँकी जग्गा नेपाल प्रहरीको उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपयोग गर्नेगरी प्रक्रिया अघि बढाइनेछ।

त्यस्तै, साविक काठमाडौं महानगरपालिका–३१ (हाल वडा नं. २८) रामशाहपथस्थित जग्गा सरकारको नाममा दर्ता गर्न महानगरले सहमति जनाएको छ।

यसअघि महानगरपालिकाले भोटाहिटीस्थित उक्त भवनमा वडा कार्यालय सञ्चालन गर्न माग गर्दै आएको थियो। सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण स्थानीय तहले गर्ने कानुनी व्यवस्था भए पनि उपभोगका लागि सम्बन्धित निकायसँग समन्वय र सम्झौता आवश्यक हुने प्रावधानअनुसार गृह मन्त्रालयसँग सहमति लिइएको हो।