काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले सोलुखुम्बु जिल्लाको निर्वाचन परिणामले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि ठूलो महत्व राख्ने बताउनुभएको छ।
शनिवार सोलु–काठमाडौँ सम्पर्क समन्वय समितिले काठमाडौंमा आयोजना गरेको निर्वाचन विशेष कार्यक्रममा उहाँले सोलुखुम्बुमा कुन पार्टी र कुन नेताले जित्छ भन्ने कुरामा संसारको ध्यान रहने उल्लेख गर्नुभयो। उहाँले सोलुखुम्बुका मतदातालाई नेकपा उम्मेदवार असिम राईलाई ‘तारा’ चुनाव चिन्हमा अत्यधिक मतसहित विजयी गराउन आग्रह गर्नुभयो।
उहाँले आफ्नो सम्बोधनमा भन्नुभयो,
“सोलुखुम्बु संसारको सबैभन्दा अग्लो शिखर सगरमाथाको काखमा रहेको जिल्ला हो। संसारले हेर्छ, संसारले चिन्छ—सोलुमा कुन पार्टीले जित्यो? कुन नेताले जित्यो भन्ने कुरा राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि महत्व राख्छ। तपाईहरुको जिम्मेवारी अन्य क्षेत्रका मतदाताभन्दा बढी छ। तपाईंहरूले रेकर्ड बनाउने गरी असिम राईलाई अत्यधिक बहुमतमा विजयी गराउनुस्। असिम राईलाई विजयी गराएर पठाएपछि सोलुको विकासका लागि आवश्यक सबै काम म गर्नेछु।”
संयोजक दाहालले सोलुखुम्बुको विकासका लागि सडक सञ्जाल विस्तार, पर्यटन प्रवद्र्धन, पर्वतारोहण व्यवस्थापन, र अन्तर्राष्ट्रिय स्तरमा ऊर्जा शक्तिको विकासलगायत क्षेत्रमा आफ्नो पूर्ण सहयोग रहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।
उहाँले निर्वाचनका अतिरिक्त पार्टी एकता र वामपन्थी शक्ति सुदृढीकरणको महत्वसमेत औंल्याउनुभयो। जेन–जी आन्दोलनपछि वामपन्थी शक्तिहरूबीच एकताको आवश्यकतालाई ठानेर नेकपामा विभिन्न २३ वटा घटकहरू एकीकृत हुने स्थितिमा पुगेको जानकारी दिनुभयो।
उहाँले मतदातालाई चेतावनी र आग्रह दुवै गर्नुभयो कि भ्रम, लाञ्छना र प्रतिद्वन्द्वीहरूको प्रचार-प्रसारबाट प्रभावित नहुने र विवेकपूर्ण मतदान गर्ने जिम्मेवारी उनीहरूले निर्वाह गर्नुपर्ने छ।
साथै संयोजक दाहालले आफ्नो सम्बोधनमा आगामी निर्वाचनमा नेकपा उम्मेदवारको विजयले मात्र सोलुखुम्बुको विकासमा प्रभावकारी कदम चाल्न सकिने उल्लेख गर्दै मतदातालाई सक्रिय सहभागितामा जोड दिनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया