कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर आउनेहरूको संख्या निरन्तर बढ्दो देखिएको छ। सडक, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत पूर्वाधार भए पनि पर्याप्त रोजगारी र सहज जीवनयापनको अभावले तराई झर्ने क्रम रोकिएको छैन।
नगरपालिकाको सूचना तथा प्रविधि शाखाका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा शुक्लाफाँटामा कुल तीन हजार ४५ जना बसाइँ सरेर आएका छन्। आव २०७९/८० मा १,०१२ जना भित्रिएका थिए भने २०८०/८१ मा यो संख्या घटेर ९३५ पुगेको थियो। तर आव २०८१/८२ मा पुनः बढेर १,०९८ पुगेको छ।
बसाइँ सरेर आउनेहरूको आकर्षण मुख्यतया बजार क्षेत्र र बजार विस्तार भएका वडातर्फ केन्द्रित रहेको छ। सूचना तथा प्रविधि शाखा प्रमुख लोगराज भट्टका अनुसार वडा नम्बर ८, १० र ११ मा जनघनत्व तीव्र रूपमा बढेको छ। आव २०८१/८२ मा वडा नम्बर ८ मा सबैभन्दा बढी १६४ जना भित्रिएका छन्। त्यस्तै, वडा नम्बर ११ मा १३५, वडा नम्बर ७ र ५ मा समान १२५ र वडा नम्बर १० मा ११८ जना भित्रिएका छन्।
बसाइँ सरेर आउने अधिकांश व्यक्ति सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी र दार्चुलाका रहेका छन्। त्यसपछि अछाम, बझाङ र बाजुराबाट आउनेको संख्या उल्लेख्य छ। अधिकांश बसाइँ सरेर आउने पहाडी समुदायका नागरिक हुन्, भने आदिवासी थारु समुदायको सहभागिता न्यून देखिएको छ।
यता, नगरपालिका क्षेत्रबाट अन्यत्र बसाइँ सरेर जानेहरूको संख्या पनि बढेको छ। आव २०७९/८० मा ३८८, २०८०/८१ मा ३५४ र आव २०८१/८२ मा ५२२ जना बाहिरिएका छन्। तथापि, बाहिरिनेको तुलनामा भित्रिनेको संख्या झण्डै दोब्बर बढी देखिन्छ।
नगरपालिकाका नगर प्रवक्ता लालबहादुर ऐरका अनुसार पहाडी क्षेत्रमा आधारभूत सेवा त पुगेका छन्, तर रोजगारीका अवसर र आर्थिक आत्मनिर्भरता अभाव हुँदा मानिसहरू सहज जीवनयापन र अवसर खोजीमा बजार र सडक पहुँच भएका क्षेत्रमा केन्द्रित भइरहेका छन्।
उनले थपे, “अव्यवस्थित बसाइँसराइका कारण तराई क्षेत्रमा जनघनत्व बढ्दै गएको छ। यसले खेतीयोग्य जमिन खण्डीकरण गर्ने र सहरी सेवामाथि चाप पर्ने चुनौती थप्दैछ।”
फेसबुकबाट तपाईको प्रतिक्रिया