स्वास्थ्य बीमा कार्यक्रम जोगाउन सरकार गम्भीर बन्नुपर्छ : प्रदीप पौडेल

65 Shares

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमको निरन्तरता र प्रभावकारी कार्यान्वयनका लागि सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का मतदातासँगको भेटघाटपछि प्रतिक्रिया दिँदै पौडेलले आफ्नो कार्यकालमा स्वास्थ्य बीमालाई उच्च प्राथमिकता दिएको स्मरण गरे। हाल केही स्थानमा बीमा सेवा बन्द हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले सरकारले तत्काल समस्या समाधानतर्फ ध्यान दिनुपर्ने बताए।

सरकारले स्वास्थ्य सेवा उपलब्ध गराउन नसक्ने अवस्था आए वैकल्पिक स्रोत परिचालन गर्ने स्पष्ट खाका आफूहरूले पहिल्यै प्रस्तुत गरिसकेको उनको भनाइ थियो। पूर्वप्रधानमन्त्रीलाई पटक–पटक आग्रह गर्दा पनि योजना पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उनले पछिल्ला सरकारहरूले पनि स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिनैपर्नेमा जोड दिए।

हाल स्वास्थ्य बीमा कार्यक्रम आर्थिक संकटमा परेको छ। सेवा प्रदायक अस्पतालहरूले लामो समयदेखि भुक्तानी नपाएको भन्दै सेवा बन्द गर्ने चेतावनी दिएका छन्। शिक्षण अस्पताललगायत ठूला अस्पतालहरूमा समेत बीमा सेवा प्रभावित भएको खबर सार्वजनिक भइरहेका छन्।

महामन्त्री पौडेलले आफ्नो कार्यकालमा बीमा सुविधा विस्तार गर्ने प्रस्ताव — १ लाख रुपैयाँबाट बढाएर ५ लाख रुपैयाँसम्म पु¥याउने — र योगदानमा आधारित प्रणाली लागू गर्ने प्रयास गरिएको बताए। तर अहिले कार्यक्रम नै जोखिममा परेको भन्दै उनले सरकार स्वास्थ्य क्षेत्रबाट पछि हट्न नमिल्ने स्पष्ट पारे।

यसैबीच, उनले काठमाडौं क्षेत्रमा ढल व्यवस्थापनको क्षमता अभिवृद्धिका लागि पनि आफू सक्रिय रहने प्रतिबद्धता जनाए। आफूले जिम्मेवारीमा रहँदा काम नगरेको भन्ने अवस्था नरहेको पनि उनको भनाइ थियो।