२१ वर्षपछि राष्ट्रिय जिम्न्यास्टिक प्रतियोगिता सुरु

85 Shares

काठमाडौं। नेपालमा २१ वर्षपछि राष्ट्रिय जिम्न्यास्टिक प्रतियोगिता आयोजना गरिएको छ। नेपाल जिम्न्याष्टिक संघको आयोजनामा १४औं राष्ट्रिय जिम्न्यास्टिक प्रतियोगिता शुक्रबारदेखि भक्तपुरको जगातीस्थित लिवालीमा सुरु भएको हो।

यसअघि १३औं संस्करण २०६१ सालमा पोखरामा भएको थियो। दुई दशकभन्दा बढीको अन्तरालपछि प्रतियोगिता पुनः आयोजना गरिएको हो। हाल प्रतियोगिताको कम्पिटिसन वान अन्तर्गत टिम स्पर्धा भइरहेको छ।

पुरुषतर्फ भल्ट इभेन्टमा नेपाल आर्मी, बागमती प्रदेश र सशस्त्र प्रहरी बल (एपिएफ) प्रतिस्पर्धामा छन्। प्रारम्भिक स्कोरअनुसार आर्मीले ३७.८ अंक तथा बागमतीले ३६.७ अंक प्राप्त गरेका छन्। एक टोलीमा ६ जना खेलाडी सहभागी छन्। यसैबीच महिलातर्फ एक्सरसाइज स्पर्धा जारी छ।

व्यक्तिगत स्पर्धाअन्तर्गत भल्ट र फ्लोर इभेन्ट समावेश गरिएको छ। प्रतियोगितामा देशभरबाट ११४ जना खेलाडी सहभागी भएका छन्।

१३औं संस्करणमा भक्तपुर टिम च्याम्पियन बनेको थियो। त्यतिबेला अलराउन्डरतर्फ पूण्यराम घेमसु च्याम्पियन र श्रीप्रसाद कोजु उपविजेता भएका थिए। कोजु हाल यस प्रतियोगिताको आयोजनामा संलग्न छन्।

दुईदिने प्रतियोगिताको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम, नेपाल जिम्न्यास्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधान र उपाध्यक्ष राजकुमार कार्कीलगायतले गर्नुभएको थियो। उद्घाटन समारोहमा मन्त्री गौतमले जिम्न्यास्टिक खेलले ध्यान र एकाग्रता वृद्धि गर्ने भएकाले यसको विशेष महत्व रहेको बताउनुभयो।