काठमाडौं – राष्ट्रिय सूचना आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सूचना प्रवाहलाई जिम्मेवार र विश्वसनीय बनाउन सबै सरोकारवाला निकायलाई निर्देशन दिएको छ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोगले निर्वाचनका क्रममा फैलिने भ्रामक, गलत तथा नियोजित सूचनाले लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पार्न सक्ने भन्दै सूचना सम्प्रेषण सत्य, तथ्य र यथार्थमा आधारित हुनुपर्नेमा जोड दिएको हो।
आयोगका प्रवक्ता तथा सूचना आयुक्त गगन विष्टले निर्वाचनसम्बन्धी सार्वजनिक सूचना समयमै र सबैले सहजै बुझ्ने ढंगले उपलब्ध गराउन सरकारलाई निर्देशन दिइएको जानकारी दिनुभयो। साथै, गलत र भ्रामक सूचनामाथि प्रभावकारी निगरानी र नियमन गर्न सम्बन्धित निकायलाई सक्रिय राख्न पनि सरकारलाई सचेत गराइएको उहाँको भनाइ थियो।
आयोगले निर्वाचन आयोगलाई मतदाता शिक्षा कार्यक्रम थप प्रभावकारी बनाउन, बहुभाषिक माध्यममार्फत सूचना प्रवाह गर्न तथा निर्वाचनसम्बन्धी ऐन, कानून, निर्देशिका र आचारसंहितालाई समयमै सार्वजनिक गर्न निर्देशन दिएको छ।
त्यसैगरी, राजनीतिक दल तथा उम्मेदवारहरूलाई आफ्नाबारे तथ्यमा आधारित सूचना मात्र सार्वजनिक गर्न, गालीगलौज, दुष्प्रचार, मिथ्या र भ्रामक सूचनाको प्रयोग नगर्न आयोगले आग्रह गरेको छ। दलहरूलाई निर्वाचनसम्बन्धी सूचना प्रवाहका लागि आधिकारिक सूचना अधिकारी तोक्न समेत सुझाव दिइएको छ।
सञ्चारमाध्यमहरूलाई पनि निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्दा निष्पक्षता, सन्तुलन र समान पहुँचको सिद्धान्त पालना गर्न आयोगले निर्देशन दिएको छ। कुनै दल वा उम्मेदवारको प्रचार सामग्रीलाई समाचारको रूपमा प्रकाशन वा प्रसारण नगर्न र सशुल्क प्रचारलाई स्पष्ट रूपमा छुट्याउन पनि सचेत गराइएको छ।
यसका साथै सर्वसाधारण नागरिकलाई सामाजिक सञ्जाल वा अन्य माध्यममा सूचना सेयर गर्नुअघि त्यसको स्रोत आधिकारिक र विश्वसनीय भएको सुनिश्चित गर्न तथा भ्रामक सूचना भेटिएमा सम्बन्धित निकायलाई जानकारी गराउन आयोगले आग्रह गरेको छ।
आयोगले विश्वसनीय सूचना प्रवाह नै लोकतान्त्रिक अभ्यासको आधार भएकाले सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया