श्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: पहाडमा वर्षा, उच्च भूभागमा हिमपातको सम्भावना

168 Shares

काठमाडौं – हाल देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण विभिन्न प्रदेशमा बादल लाग्ने, वर्षा र हिमपात हुने सम्भावना देखिएको छ।

बिहीबार बिहान कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा पूर्णतया बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली देखिएको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ, जसले दैनिक जनजीवन र यातायातमा असर पार्न सक्छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। देशका अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।

राति पनि तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने कोशी, बागमती र गण्डकीका उच्च क्षेत्रमा हल्का हिमपात वा वर्षा हुन सक्ने पूर्वानुमान छ।

मौसम प्रतिकूल हुन सक्ने भएकाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।