काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद किरणबाबु श्रेष्ठले संविधानलाई सही दिशामा लैजाने एकमात्र उपाय निष्पक्ष निर्वाचन भएको बताउनुभएको छ।
मंगलबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले सबै राजनीतिक दलहरूको चाहना अनुरूप देश निर्वाचनमा होमिएको उल्लेख गर्नुभयो। तर, निर्वाचनको जिम्मेवारी बोकेका मन्त्रीहरूले अन्तिम समयमा पद छाडेर चुनावी मैदानमा होमिनुले गम्भीर नैतिक प्रश्न उठाएको उहाँको भनाइ थियो।
“संविधानलाई डिरेलबाट रेलमा ठिक लिगमा ल्याउने भनेको निर्वाचन नै हो। तर जिम्मेवारी बोकेका मन्त्री महोदयहरूले अन्तिम समयमा मैदान छाडेर चुनाव लडे। यसले निष्पक्ष निर्वाचनको शंका उत्पन्न गरेको छ। राजीनामा दिएर चुनाव लड्न पाउनु उहाँहरूको संवैधानिक अधिकार हो, तर यसले गम्भीर नैतिक प्रश्न उठाएको छ। यसको जवाफ जनताले चुनावी मैदानमा दिनेछन्,” सांसद श्रेष्ठले भन्नुभयो।
उहाँले मन्त्री पदमा रहँदा प्राप्त सत्ता र संसाधनको दुरुपयोग चुनावी क्षेत्रमा भयो कि भएन भन्ने पनि शंका व्यक्त गर्नुभयो। साथै, मन्त्रीहरू आ–आफ्नो पार्टी खोलेर वा अन्य पार्टी प्रवेश गरेर चुनाव लड्न लाग्दा जेन–जी आन्दोलन, सरकारी संयन्त्रमाथिको आगजानी लगायतका घटनाक्रमका पर्दा विस्तारै खुल्दै गएको उहाँको भनाइ थियो।
सांसद श्रेष्ठको स्पष्ट सन्देश यस्तो छ कि संविधानको सम्मान र लोकतन्त्रको मजबुतीका लागि सबै राजनीतिक दल र उम्मेदवारले निष्पक्ष, पारदर्शी र जिम्मेवार तरिकाले निर्वाचन प्रक्रियामा भाग लिनुपर्नेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया