काठमाडौं । हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मंगलबार बिहान कोशी र मधेश प्रदेशको तराईका केही स्थानमा तुवाँलो लागेको छ भने हिमाली भू-भागमा आंशिक बदली देखिएको छ। देशका अन्य क्षेत्रको मौसम भने मुख्यतया सफा रहेको छ।
मंगलबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। ती क्षेत्रका केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिमका केही अन्य स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
मंगलबार राति भने मौसम थप बदली हुने अनुमान गरिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम हिमपात र वर्षा हुन सक्छ।
यसैगरी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका केही स्थानमा हल्का वर्षा हुन सक्छ। लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङको जोखिम पनि रहेको महाशाखाले जनाएको छ।
मौसमको प्रतिकूलताका कारण हिमाली तथा उच्च पहाडी क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया