काठमाडौँ । सुनसरी–१ का उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेको आरोप उजुरीमा लगाइएको हो।
उक्त उजुरी धरान नगर बाल सञ्जालले जिल्ला प्रहरी कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा दायर गरेको हो। उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ को उपदफा ९७० अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने व्यवस्था रहेको र उम्मेदवार त्यसविरुद्ध गएको उल्लेख छ।
सञ्जालले साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित गराइ छलफल गर्न र आचारसंहिता उल्लङ्घन भए कारबाही गर्न पनि माग गरेको छ। निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा उजुरी अध्ययन समिति गठन गरिएको छ र उक्त समितिले अध्ययन गरी कारबाहीको प्रक्रिया अघि बढाउनेछ।
ऐनमा बालबालिकाको प्रयोग प्रमाणित भएमा एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी दर्ता खारेज गर्न सकिने व्यवस्था छ। फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया