काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित भयो। स्कटल्यान्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभर ५ बलमा ६८ रनमा अलआउट भयो। नेपालका लागि विन्दु रावल र रोमा थापाले अविजित १४–१४ रन बनाए।
बलिङतर्फ स्कटल्यान्डकी अबतहा मकसूदले ३ विकेट लिइन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड १ सय ४० रनमा अलआउट भएको थियो। स्कटल्यान्डकी प्रियनाज चटर्जीले अविजित ४५ रन बनाइन्। नेपालका लागि मनिषा उमाध्यायले ४ तथा रुविना क्षेत्रीले ३ विकेट लिइन्।
यो नतिजासँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना समाप्त भएको छ। स्कटल्यान्ड भने सुपर सिक्समा प्रवेश गरेको छ।
सोमबारकै खेलहरूसँगै सुपर सिक्समा पुग्ने ६ वटै टोलीको टुंगो लागेको छ। समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड सुपर सिक्समा पुगेका छन् भने समूह ‘ए’ बाट बंगलादेश, आयरल्याण्ड र अमेरिका अघिल्लो चरणमा प्रवेश गरेका छन्।
सुपर सिक्सबाट शीर्ष चार टोली यही जुनमा इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपका लागि छनोट हुनेछन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया